प्रेस चौतारी नेपाल पत्रकारहरूको गौरवमय इतिहास बोकेको संगठन हो, जसले नेपालमा पत्रकारिता र मिडिया क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निभाइरहेको छ । प्रेस चौतारी, आफ्नो स्थापनादेखि नै पत्रकारहरूको हक र अधिकारको रक्षा गर्दै समाजमा पत्रकारिता सम्बन्धी जागरूकता ल्याउन निरन्तर लागिरहने नेतृत्वदायी संगठन हो। यसले सधैं लोकतन्त्रको रक्षाका लागि आवाज उठाउँदै आएको छ ।

नेकपा (एमाले) को राजनीतिक विचारलाई साथ दिएर सांगठानिक प्रक्रियामा गोलबद्ध भएको यो संगठन नेपाली पत्रकारिताको रक्षाका लागि भएका हरेक आन्दोलनमा कहिल्यै नचुकेको इतिहास गर्व गर्नलायक छ ।

२०२९ फागुन २१ गते झापा विद्रोहका क्रममा नेताहरू रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र वीरेन राजवंशीलाई झापा कारागारबाट इलाम सरुवा गर्ने बहानामा झापा र इलामको सिमाना क्षेत्रमा पर्ने सुखानीको जंगलमा लगेर तत्कालीन शासकले गोली हानी हत्या गरेका थिए ।

त्यस दिनको स्मरण गर्दै, मुलुक संघीयतामा गएपछि २०७८ फागुन २१ गतेकै दिन झापाको विर्तामोडमा नेपाली कम्युनिस्ट आन्दोलनको महत्वपूर्ण स्थलमा ऐतिहासिक पहिलो प्रदेश अधिवेशन भव्यताका साथ सम्पन्न गरिएको थियो। उक्त अधिवेशनले प्रेस चौतारीमा आबद्ध श्रमजीवी पत्रकारहरूलाई संगठित गर्दै अविजाल बिष्टको नेतृत्वमा ७५ सदस्यीय प्रदेश कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको थियो ।

प्रेस चौतारीले संगठन निर्माणको क्रममा विभिन्न योजना र कार्यक्रमहरू अघि सारेको छ। पत्रकारहरूको पेशागत सम्मान र सुरक्षाको सुनिश्चितता, पत्रकारिता सम्बन्धी शैक्षिक र व्यावसायिक तालिम, पत्रकारिता विधाको सुधार तथा समयानुकूल प्रविधिको प्रयोगमा प्रेरणा दिने कार्यहरू गर्दै आएको छ ।

प्रेस चौतारीले कोशी प्रदेशका विभिन्न जिल्लामा कार्यरत पत्रकारहरूको हकहितका लागि आवाज उठाउँदै, उनीहरूको समस्याको समाधानमा पहल गर्ने र पत्रकारिताको स्तर सुधारका लागि निरन्तर चिन्ता र चासो व्यक्त गर्दै आएको छ ।

कोभिड–१९ महामारीले थला पारेको नेपाली पत्रकारिता क्षेत्र र पत्रकारहरूको समस्याको समाधानका लागि संगठनले छलफल र पैरवीलाई निरन्तरता दिएको छ। तर, कोभिडकै संक्रमणपछि उपचारका क्रममा प्रेस चौतारीका नेता स्व. चन्द्र न्यौपाने र शान्तिराम कार्कीलाई हामीले गुमाउनु परेको दुःखद घटना रह्यो ।

न्यूनतम पारिश्रमिकसमेत कार्यान्वयन नभएका कारण पेशागत असुरक्षामा रहेका पत्रकारहरू महामारीबाट समेत प्रत्यक्ष प्रभावित हुनुपर्‍यो । यस्ता विषम परिस्थितिमा पनि प्रेस चौतारी नेपालप्रति विश्वास राखी यसको कार्यनीतिलाई मन पराउँदै संगठनमा आबद्ध हुने क्रम जारी रहेको छ ।

कुनै पनि संगठनलाई मूल राजनीतिक विचार प्रवाह गर्ने नेतृत्वकर्ता लोकतान्त्रिक पार्टी नै हो । पहिलो प्रदेश अधिवेशन सम्पन्न गरेपछि नेकपा (एमाले) बाट एउटा समूह अलग भएपछि त्यसको असर प्रेस चौतारीमा पनि केही देखिएको थियो । तर, त्यसलाई सम्हाल्दै हामीले दोस्रो प्रदेश अधिवेशन २०८१ माघ ३० गते विराटनगरमा भव्य रूपमा सम्पन्न गरेका छौं। अहिले अधिकांश बाटो बिराएका साथीहरू पुनः जिल्ला–जिल्लामा प्रेस चौतारीमा गोलबद्ध हुँदै आएका छन् ।

पार्टीको जनसंगठन संयन्त्रको निर्देशनअनुसार अहिले प्रेस चौतारी नेपालले अन्य संघ–संस्थामा अलमलमा परेका इमान्दार तथा सक्रिय पत्रकारहरूलाई चौतारीमा जोड्ने अभियानलाई निरन्तरता दिइरहेको छ ।

सांगठानिक अवस्था :

कोशी प्रदेशमा प्रेस चौतारी नेपालमा जोडिने सदस्यहरूको संख्या बढ्दो क्रममा रहेको छ। यसले मिडिया क्षेत्रमा नयाँ अवसरहरूको सिर्जना गर्ने आशा समेत देखाएको छ । प्रेस चौतारी कोशी प्रदेश समितिले स्थानीय पत्रकारिता र संगठनहरूको सञ्जाल निर्माण गर्दै आएको छ। कोशी प्रदेश अन्तर्गत १४ वटै जिल्लामा कार्यसमितिहरू पूर्णता पाएर सांगठानिक गतिविधिमा सक्रिय छन् ।

यी १४ जिल्लामा प्रेस चौतारीको जिल्ला समितिमा १९६ जनाले नेतृत्वदायी जिम्मेवारी लिएका छन्। प्रत्येक जिल्लामा ९ देखि २१ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएका छन् ।

संगठन विस्तार र सुदृढीकरणको क्रममा कोशी प्रदेशमा प्रेस चौतारीमा आबद्ध कुल सदस्य संख्या १,३६२ जना रहेको छ। संख्यात्मक रूपमा बलियो बन्दै गएको प्रेस चौतारीलाई गुणात्मक रूपमा अगाडि बढाउनु पर्ने जिम्मेवारी अब हाम्रो काँधमा आएको छ ।

२०७५ सालमा नेपाल पत्रकार महासंघ कोशी प्रदेशको संस्थापक बनेर प्रेस चौतारीले नेतृत्व लिएको थियो। तर, २०७७ साल चैतमा सम्पन्न दोस्रो प्रदेश अधिवेशनमा भने हामी प्रदेश समितिमा लगभग शून्यमा सीमित हुनुपरेको थियो । यद्यपि मोरङ, सोलुखुम्बु, ताप्लेजुङ र उदयपुर जिल्ला शाखाहरूमा अध्यक्षलगायत महत्वपूर्ण पदमा चौतारीको नेतृत्व स्थापित भएको थियो ।

ती चुनौतीहरू पार गर्दै महासंघ प्रदेश समितिको तेस्रो कार्यकालमा प्रेस चौतारीको नेतृत्व पुनः स्थापित भएको छ। अहिले प्रेस चौतारीले महासंघ कोशी प्रदेश समितिमा अध्यक्षसहित विभिन्न पदमा नेतृत्व पाएको छ ।

कोशी प्रदेशका ओखलढुंगा, खोटाङ, सुनसरी, भोजपुर, ताप्लेजुङ र इलाम जिल्लामा अध्यक्षसहित नेतृत्व निर्वाचित भएको छ ।

महासंघको २०८१ मंसिर २८ गते सम्पन्न तीनै तहको निर्वाचनबाट कोशी प्रदेशका १४ जिल्लामा प्रेस चौतारीबाट अध्यक्ष–६, उपाध्यक्ष–६, महिला उपाध्यक्ष–४, सचिव–५, सहसचिव–७, समावेशी सहसचिव–९ र कोषाध्यक्ष–५ जना निर्वाचित भएका छन् । सदस्यतर्फ चौतारीबाट ५० जना विजयी भएका छन् ।

कोशी प्रदेशमा प्रेस चौतारीबाट नेपाल पत्रकार महासंघको सदस्य रहेका ४१० जना मध्ये ९२ जना जिल्ला कार्यसमितिमा, ३४ जना प्रदेश प्रतिनिधि परिषद्मा, १५ जना केन्द्रीय प्रतिनिधि परिषद्मा, ९ जना प्रदेश कार्यसमितिमा र १ जना केन्द्रीय सदस्यको रूपमा गरी कुल १५१ जना निर्वाचित भएका छन् ।