
विराटनगर । प्रेस चौतारी नेपाल कोशी प्रदेश समितिको पहिलो पूर्ण बैठक विभिन्न निर्णयहरू गर्दै सम्पन्न भएको छ। प्रेस चौतारी कोशी प्रदेश समितिका अध्यक्ष सुमन पुरीको अध्यक्षतामा भएको बैठकलाई नेकपा एमालेका नेताहरूले समेत सम्बोधन गर्नु भएको थियो।
नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं कोशी प्रदेश इञ्चार्ज शेरधन राईले प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दै प्रेस चौतारी र पार्टीबीच अन्योन्याश्रित सम्बन्ध रहेको बताउनु भयो। वहाँले प्रेस जगतलाई स्वच्छ र मर्यादित बनाउन प्रेस चौतारीले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताउनु भयो। पार्टीको विचार र सिद्धान्तमा आधारित भएर अघि बढ्नुपर्ने उल्लेख गर्दै चौतारीको पहिलो प्रदेश समितिले पार्टीको स्पिरिटअनुसार काम नगर्दा संगठन नै गतिविधिविहीन बनेको तर अहिले आएर गतिशीलता प्राप्त भएको धारणा राख्नुभयो।
स्थायी कमिटी सदस्य एवं नेकपा एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख तथा प्रेस चौतारी इञ्चार्ज क. राजेन्द्र गौतमले २०८१ चैत १०–११ मा विराटनगरमा हुने तय भइसकेको प्रेस चौतारीको १०औँ राष्ट्रिय महाधिवेशनका सन्दर्भमा आफ्ना धारणा राख्नुभयो। वहाँले कुनै पनि कसर बाँकी नराखी महाधिवेशन सफल पार्न आग्रह गर्नुभयो। साथै, सामाजिक सञ्जालको गलत प्रयोगबाट एमालेमाथि प्रहार भइरहेकोप्रति प्रेस चौतारीले आफ्नो तर्फबाट त्यस्ता प्रचारको खण्डन गर्दै जानुपर्ने सुझाव दिनुभयो।
नेकपा एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले अघिल्लो कार्यकालमा चौतारीको सांगठनिक गतिविधि प्रभावकारी रूपमा हुन नसकेको महसुस भएको बताउनुभयो। अहिलेको कार्यसमितिले पार्टीसँग समन्वय गरेर विभिन्न गतिविधि गर्दै अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो।
नेकपा एमाले कोशी प्रदेश कमिटीका प्रचार तथा प्रकाशन विभाग प्रमुख लक्ष्मण तिवारीले प्रेस चौतारीलाई बलियो बनाएर लैजान वर्तमान नेतृत्व सक्षम हुने भन्दै शुभकामना दिनुभयो। वहाँले प्रेस चौतारीलाई व्यावसायिक धरातलमा रहेर काम गर्ने संगठनको रूपमा विकास गर्न सुझाव दिनुभयो। सामाजिक सञ्जालबाट एमालेमाथि भइरहेका हमलाको विरोधमा प्रेस चौतारीले समेत सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो।
बैठकमा प्रेस चौतारी नेपालका केन्द्रीय सचिव तथा कोशी प्रदेश इञ्चार्ज विक्रम लुइँटेल, नेकपा एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सदस्य क. लिलाराज भट्टराई, प्रेस चौतारी नेपालका कोशी प्रदेश सह–इञ्चार्जहरू अम्बिका भण्डारी र टिकाराम उप्रेती, केन्द्रीय सदस्य सन्तोष आचार्य, पूर्व केन्द्रीय सदस्य भरत खड्काको उपस्थिति रहेको थियो।
बैठकले प्रेस चौतारी नेपाल कोशी प्रदेश समितिको वार्षिक योजना र कार्यक्रमको क्यालेन्डर प्रकाशन गर्नका लागि संगठनका अध्यक्ष सुमन पुरीको संयोजकत्वमा उपाध्यक्ष युवराज विवश र महासचिव बाबुराम भण्डारी रहेको तीन सदस्यीय समिति गठन गरेको छ।
त्यसैगरी, प्रेस चौतारी नेपालको १०औँ राष्ट्रिय महाधिवेशन २०८१ चैत १०–११ गते विराटनगरमा भव्यताका साथ सम्पन्न गर्नका लागि सिंगो कोशी प्रदेश समिति पूर्णरूपमा सक्रिय रहेर सहयोग गर्ने निर्णय गरिएको छ।
महाधिवेशन सम्पन्न गर्न प्रेस चौतारीका केन्द्रीय सचिव एवं कोशी प्रदेश इञ्चार्ज विक्रम लुइँटेलले बैठकमा गर्नुभएको प्रस्तावअनुसार प्रदेश समितिहरूसँग आवश्यक समन्वय गर्न १० वटा उपसमिति गठन गर्ने निर्णय पारित गरिएको छ।
उपसमितिहरूले प्रतिनिधि संख्या, प्रतिनिधि शुल्क संकलन र प्रतिनिधिहरूको आवास (होटल) व्यवस्थापन लगायतका प्रमुख कार्यभारहरू पूरा गर्नुपर्ने कार्यजिम्मेवारी तोकिएको छ।
महाधिवेशनमा आमन्त्रित गरिएका अतिथिहरूको स्वागतका लागि महाधिवेशन आयोजक जिल्ला मोरङबाट प्रेस चौतारी अध्यक्ष चीना थापाको संयोजकत्वमा प्रदेश समिति सदस्य जुनु भट्टराई र मोरङ जिल्ला समिति सचिव नवराज भट्टराईको नेतृत्वमा स्वागत–सम्मान उपसमिति गठन गर्ने निर्णय गरिएको छ।
प्रेस चौतारी नेपाल कोशी प्रदेश समितिको २०८१ माघ ३० गते सम्पन्न दोस्रो प्रदेश अधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्न महत्वपूर्ण सहयोग गर्ने प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, उपाध्यक्षद्वय गणेश पाण्डे र राजेश राई, महासचिव हिरामान लामा, केन्द्रीय सचिव एवं कोशी प्रदेश इञ्चार्ज विक्रम लुइँटेल लगायतका सम्पूर्ण पदाधिकारीहरू तथा केन्द्रीय सदस्यहरू, केन्द्रीय निर्वाचन आयोग, नेकपा एमाले स्थायी कमिटी सदस्य, केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख तथा प्रेस चौतारी इञ्चार्ज राजेन्द्र गौतम, एमाले स्थायी कमिटी सदस्य एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी, प्रेस चौतारी कोशी प्रदेश समितिका निवर्तमान अध्यक्ष अविजाल बिष्टलगायत सिंगो प्रदेश समिति, पार्टीका विभिन्न तहका नेताहरू, अन्य जनसंगठनका नेताहरू, शुभेच्छुक संगठनका नेता तथा प्रतिनिधिहरूलाई बैठकले हार्दिक धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ।