प्रेस चाैतारीको आयोजनामा डिजिटल मिडिया र एआई सम्बन्धी तालिम प्रकाशित : आइतबार, जेठ ०४, २०८२

विराटनगर । प्रेस चौतारी मोरङको आयोजनामा ‘डिजिटल मिडिया र एआई’ सम्बन्धी तीन दिने तालिम विराटनगरमा सम्पन्न भएको छ। विराटनगर महानगरपालिकाको सहयोगमा जेठ १ गतेदेखि ३ गतेसम्म सञ्चालन गरिएको उक्त तालिममा जिल्लाका पत्रकार तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

तालिमको समापन कार्यक्रममा प्रमुख अतिथि तथा विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले पत्रकारले आफ्नो क्षमता विकाससँगै अन्य सञ्चारकर्मीहरूलाई आवश्यक ज्ञान र सीप प्रदान गर्न यस्ता तालिमहरू समयसापेक्ष र अत्यावश्यक रहेको बताउनु भयो ।

“महानगरपालिकाले आवश्यकताको आधारमा यस्ता तालिमहरू नियमित रूपमा सञ्चालन गर्न तयार छ,” उहाँले भन्नुभयो, “पत्रकारिता तथ्य र प्रमाणमा आधारित हुनुपर्छ, गल्ती औँल्याउने पक्ष पनि जिम्मेवार हुनुपर्छ।”

कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य सुमन सुस्केराले बदलिँदो सञ्चार परिवेशसँगै पत्रकारिताको शैली पनि परिवर्तन भइरहेकाले नयाँ चुनौतीहरूसँग जुध्न सक्ने क्षमता पत्रकारमा हुनुपर्ने बताउनु भयो ।

प्रेस चौतारी नेपालले यस वर्षलाई ‘प्रशिक्षण वर्ष’ को रूपमा लिएको जानकारी दिँदै आगामी दिनमा अझ संगठनात्मक र पत्रकारहरूका लागि आवश्यक पर्ने प्राविधिक तालिमहरू सञ्चालन गरिने जनाएको छ ।

त्यसैगरी, तालिमको समापनका अवसरमा प्रेस चौतारी नेपाल कोशी प्रदेश अध्यक्ष सुमन पुरी, प्रेस चौतारी मोरङका संस्थापक अध्यक्ष दिपेन न्यौपाने, सञ्चारिका समूह कोशी महासचिव एवं प्रेस चौतारी कोशी प्रदेश समितिकी सदस्य जुनु भट्टराई लगायतले तालिमको आवश्यकता र प्रभावबारे आ–आफ्ना धारणा राख्नु भएको थियो ।

प्रशिक्षार्थी रेजिना भट्टराईले एआईसम्बन्धी विषयवस्तुहरू जीवन र पेशासँग प्रत्यक्ष रूपमा जोडिएको अनुभव सुनाउनु भयो । अर्का प्रशिक्षार्थी तेजेन्द्र भण्डारीले डिजिटल मिडियासम्बन्धी सिकाइहरू—फोटो, भिडियो तथा समाचार निर्माण सीप—अत्यन्तै उपयोगी र व्यावहारिक भएको बताउनु भयो ।

कार्यक्रमको अध्यक्षता प्रेस चौतारी मोरङकी अध्यक्ष चिना थापाले गर्नु भएको थियो । उनले तालिममार्फत पत्रकारहरूलाई डिजिटल प्लेटफर्म र नयाँ प्रविधिमा अद्यावधिक गराउने लक्ष्यअनुसार तालिम दिइएको बताउनु भयो ।

कार्यक्रममा प्रेस चौतारी कोशी प्रदेश समितिका महासचिव बाबुराम भण्डारी, सचिव दिनेश सुब्बा, सदस्यहरु श्याम सुन्दर सुतिहार लगायतको उपस्थिति रहेको थियो । तालिमलाई प्रेस चौतारीका नेता लिलाराज भट्टराई लगायतले सहजीकरण गर्नु भएको थियो ।