
विराटनगर, ६ जेठ । प्रेस चौतारी नेपाल कोशी प्रदेश समितिले तयार पारेको भित्तेपात्रो र वेवसाइट मंगलबार विराटनगर सार्वजनिक गरिएको छ ।
संगठनका केन्द्रीय अध्यक्ष गणेश पाण्डेले प्रदेश समितिको वेवसाइटको शुभारम्भ गर्नु भएको हो ।
दोस्रो पूर्ण बैठकको अवसरमा चौतारी कोशी प्रदेश समितिको गतविधि र जानकारीहरू समेटिएको डब्ल्युडब्ल्युडब्ल्यु डट प्रेस चौतारी कोशी डट कम नामक डोमेन रहेको वेवसाइटलाई सार्वजनिक गरिएको हो ।
चौतारीका केन्द्रीय उपाध्यक्ष चेतन अधिकारी, महासचिव हिरामान लामा, केन्द्रीय विक्रम लुईंटेल, नेकपा एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सदस्य लिलाराज भट्टराई, एमाले कोशी प्रदेश समिति प्रचार तथा प्रकाशन विभागका सचिव यज्ञ शर्मा, प्रेस चौतारी कोशी प्रदेश इन्चार्ज नुतन श्रेष्ठ लगायतका नेताहरूले भित्तेपात्रो सार्वजनिकरण गर्नुभयो ।
बैठकलाई सम्बोधन गर्दै चौतारीका केन्द्रीय अध्यक्ष पाण्डेले कोशी प्रदेश समितिले १० औं राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न महत्वपूर्ण जिम्मेवारी पुरा गरेको बताउनु भयो । उहाँले २०८२ साललाई चौतारीले प्रशिक्षण बर्षका रुपमा घोषणा गरेका कारण कार्ययोजना बनाएर काम गर्न आग्रह गर्नुभयो ।
कोशी प्रदेश समितिले आफ्नै वेवसाइट बनाएर केन्द्रीय समितिको समेत ध्यानाकृष्ट गराएको बताउनु भयो ।
बैठकमा प्रेस चौतारी कोशी प्रदेश समितिका अध्यक्ष सुमन पुरीले प्रेस चौतारीमा आबद्ध पत्रकारहरूको पेशागत क्षमता विकास गर्ने, पत्रकारहरूको हकहित र अधिकारको संरक्षण गर्ने, पत्रकारहरूलाई सुरक्षित वातावरणमा काम गर्ने वातावरण निर्माण गर्ने, प्रदेशमा रहेका स्वरोजगारमुखी मिडियाहरूको प्रवर्द्धन र विकासमा सहयोग गर्ने, डिजिटल पत्रकारिता सम्बन्धि तालिम लगायतका कार्यक्रम समेटेर तयार पारेको एक बर्षको कार्ययोजना पारित गरेको छ ।
बैठकमा प्रेस चौतारीका केन्द्रीय सदस्यहरू शशि कोईराला, सुमन सुस्केरा, निर्वाचन आयोग सदस्य नरेन्द्र प्रसाद दाहाल, अनुशासन आयोग सदस्य तेजेन्द्र भण्डारी लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।